Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

बाँकेमा इ–रिक्सा दुर्घटना बढ्दो, नियमनमा चुनौती

बाँकेको नेपालगञ्ज लगायतका  सहरी क्षेत्रमा इलेक्ट्रिक रिक्साको सङ्ख्या बढेसँगै दुर्घटनासमेत बढ्दै गएको छ । अधिकांश चालकसँग सवारी चालक अनुमतिपत्र नहुनु, तालिमको अभाव र प्रभावकारी नियमन हुन नसक्दा दुर्घटना नियन्त्रण तथा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज, कोहलपुर र खजुरालगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा इ–रिक्सा सञ्चालनमा छन् । तीमध्ये धेरै चालकसँग अनुमतिपत्र नभएको र कतिपय रिक्साको दुर्घटना बीमासमेत नगरिएको पाइएको कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, कोहलपुरका प्रमुख कनकबहादुर शाहीले चालकलाई आवश्यक तालिम र अनुमतिपत्रबिना इ–रिक्सा चलाउन दिँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँका अनुसार इ–रिक्साको सङ्ख्या र सञ्चालनलाई व्यवस्थित गर्न कठिन भइरहेको छ ।

“हामीले व्यवस्थित गर्न धेरै प्रयास गरेका छौँ, तर सबै रिक्साचालकसँग अनुमतिपत्र र तालिम नहुँदा व्यवस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको छ,” उहाँले भन्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा १७९ वटा इ–रिक्सा दुर्घटनामा परेका छन् । यसअघि आव २०८१/८२ मा १०४ र आव २०८०/८१ मा १२ वटा इ–रिक्सा दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले इ–रिक्सा दुर्घटनाको सङ्ख्या बढ्दै गएको देखाउँछ ।

नेपालगञ्ज उपमहानगरपालिकाले दुई वर्षअघि कागजात नभएका केही इ–रिक्सा नियन्त्रणमा लिएर कानुनबमोजिम नष्ट गरेको थियो । तर, रिक्सा व्यवसायी तथा मजदुरको विरोधपछि व्यवस्थापनको प्रयासले निरन्तरता पाउन नसकेको जनाइएको छ ।

नेपालगञ्जमा सञ्चालनमा रहेका इ–रिक्साको वास्तविक सङ्ख्या यकिन छैन । उपमहानगरपालिकामा करिब एक हजार ७०० इ–रिक्सा दर्ता भए पनि नेपालगञ्जमा मात्रै १० हजारभन्दा बढी इ–रिक्सा सञ्चालनमा रहेको अनुमान छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले इ–रिक्सा व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँले इ–रिक्साको सङ्ख्या बढ्दै जाँदा नियमन गर्न कठिन भएको र यातायात कार्यालयबाट आवश्यक सहयोग नपाएको गुनासो गर्नुभयो ।

“रिक्साको सङ्ख्या बढ्दै जाँदा नियमन गर्न कठिन भइरहेको छ । यातायात कार्यालयलाई आवश्यक सहयोग माग्दा सहयोग गर्दैन,” उहाँले भन्नुभयो ।

नगरप्रमुख विष्टले ट्राफिक प्रहरीले अन्य सवारीसाधनलाई जस्तै इ–रिक्सालाई कारबाही गर्न नसकेको पनि बताउनुभयो ।

स्थानीय नागरिकले ट्राफिक प्रहरी, उपमहानगरपालिका र यातायातसम्बन्धी निकायबाट प्रभावकारी नियमन हुन नसक्दा इ–रिक्सा सञ्चालनमा मनपरी बढेको बताएका छन् ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले अधिकांश चालकसँग अनुमतिपत्र नहुनु, जथाभावी इ–रिक्सा चलाउनु र जहाँ पायो त्यहीँ रोक्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको बताउनुभयो । उहाँले समयमै इ–रिक्साको व्यवस्थापन र नियमनमा कडाइ नगरिए थप समस्या निम्तिन सक्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस