कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)को १७ औं बार्षिक साधारणसभा आज नेपालगन्जमा सम्पन्न भएको छ । समुदायका लागि सञ्चार अभियान नेपालका अध्यक्ष माधव अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा संस्थाले संचालन गरेका गतिविधिबारे समीक्षा गरिएको छ । सामुदायिक रेडियो कृष्णसार एफएम ९४ मेगाहर्ज संचालन गर्ने यो संस्थाले हालसम्म गरेका गतिविधि तथा चुनौतीका बिषयमा कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी गराउनुभयो । साथै उहाँले आगामी दिनमा शसक्त रुपमा समुदायको विकासका लागि संस्थाले पैरवी गर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रामप्रसाद आचार्यले स्वागत मन्तब्य दिनुभएको थियो ।
साधारण सभाले आर्थिक र प्रगति प्रतिवेदन पारित गर्नुका साथै आगमी बर्षका कार्ययोजनामा पनि छलफल गरेको छ । कार्यक्रममा समुदायका लागि सञ्चार अभियान नेपालका कोषाध्यक्ष राकेश मिश्र, सदस्य योगराज चौधरी, अधिबक्ता तथा रेडियो कृष्णसार एफएमका रेडियो इजलाश कार्यक्रमका संचालक बसन्त गौतम, संवाददाता निशु जोशी, शम्भु थारु, पवन जयसवाल र चन्दा सिंह लगायतले बोल्नुभएको थियो ।
यसै वीच रेडियो कृष्णसार एफएमको स्टेशन म्यानेजरमा सावित्री गिरी नियुक्त हुनु भएको छ । संचालक संस्था समुदायका लागि सञ्चार अभियान नेपालको भदौ ३ गते बसेको कार्य समितिको बैठकले भदौ १ गतेदेखि लागु हुने गरि गिरीलाई स्टेशन म्यानेजरमा नियुक्त गर्ने निर्णय गरेको हो । १७ वर्षदेखि मिडियामा सकृय गिरीले आमसंचार तथा पत्रकारिता र ग्रामीणशास्त्र बिषयमा स्नाकोत्तर अध्ययन गर्नुभएको छ । गिरी संग अडियोभिजुअल तथा प्रिन्ट र डिजिटल मिडियाको पनि अनुभव छ । गिरी २०६७ सालदेखि रेडियो कृष्णसार संग आवद्ध हुनुहुन्छ ।
प्रतिकृया दिनुहोस